वीरगञ्ज । वीरगञ्जमा सडक विस्तार भइरहेको क्षेत्रबाट नेटको तार चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–गण्डकदेखि शंकराचार्य गेटसम्म भइरहेको सडक विस्तारका क्रममा विभिन्न नेटको तार चोरी भएको घटनाबारे सीसीटीभी फुटेज तथा भिडियो विश्लेषण गरिएको थियो। त्यसक्रममा भदौ १७ गते राति करिब ३ बजे वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ बाइपास सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी, रक्सौल घर भई हाल वीरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने १८ वर्षीय भोला पटेल र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने करिब १८ वर्षीय सुरज बैठा रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरू तार चोरी कार्यमा संलग्न देखिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




