Categories समाचार

वीरगञ्जको क्यासिनोमा छापा, गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पौडेलसहित ८ जना नियन्त्रणमा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब १०ः३० बजे क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले चार जना जुवा खेल्ने र चार जना नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन सहयोग गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

Advertisement

जुवा खेल्ने आरोपमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल पक्राउ परेका छन्।

Advertisement

पक्राउ परेका यादव सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन सहयोग गरेको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई हाल क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका सबैलाई कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *