वीरगंज । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति पचरौता नगरपालिका–७ बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा निगरानीका क्रममा प्रहरीले गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंहको नेतृत्वमा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोली राति करिब १०ः३० बजे धानखेतमा एम्बुस थापेर बसेको थियो।
सो क्रममा धानखेतको आली हुँदै ८–९ जना अपरिचित व्यक्ति पिठ्युँमा झोलाजस्तो बनाएर सामान बोकेर आउँदै गरेको प्रहरीले देखेको थियो। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले लखेटेपछि ती व्यक्तिहरूले बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएका थिए।
प्रहरीले बरामद गरेका ९ वटा पोकामा जुटको बोरासहित प्रत्येकको तौल करिब १६.७७ किलो रहेको र कुल १५१ किलो गाँजा फेला परेको डीएसपी घलेले बताए।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा ल्याइएको छ। गाँजा फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




