विराटनगर । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको मारुती भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’को स्टिकर उक्काउने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २८ वर्षीय रोहित यादव रहेका छन्। मोरङ प्रहरीले यादवलाई भदौ २२ गते प्रहरी परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी को.१ च ६६२० नम्बरको मारुती भ्यानमा टाँसिएको स्टिकर उक्काएको आरोपमा पक्राउ गरेको हो।
उक्त भ्यान र ५० किलो २९० ग्राम गाँजा अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको थियो। पक्राउ परेका यादवमाथि जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।




