वीरगंज । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
साइबर ब्यूरोका अनुसार २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीसम्बन्धी उक्त भिडियो सामग्री फेसबुकको रिलमा प्रसारण भएको थियो। घटनाबारे ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा भिडियो बनाउने तथा प्रसारण गर्ने व्यक्ति बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय बिरेन्द्र मडै रहेको खुलेको थियो।
त्यसपछि साइबर ब्यूरोबाट खटिएको टोलीले मडैलाई भदौ २० गते पक्राउ गरेको हो। पक्राउ परेका मडैलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रहरीले सामाजिक सद्भाव तथा सहिष्णुतामा आघात पुग्ने, जातजाति वा समुदायलाई लक्षित गरी अपमानजनक सामग्री उत्पादन तथा प्रसारण गर्ने कार्यमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ।




