वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेलसहित वीरगन्जस्थित गोल्डेन फिगर क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले ६ दिनको म्याद थप गरेको छ।
वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो। प्रहरीको विशेष टोलीले क्यासिनोभित्र नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको दाबी गरेको छ।
घटनापछि अध्यक्ष यादव क्यासिनोमा जुवा खेल्न नभई प्रहरी निरीक्षक पौडेलको पटक–पटकको फोनपछि मात्र त्यहाँ पुगेको र उनी पुगेको करिब १९ मिनेटमै क्यासिनोमा छापा परेको जस्ता दाबीहरू सार्वजनिक भएका छन्। प्रहरीले भने यस्ता दाबीको समेत प्रमाणका आधारमा परीक्षण गरिने जनाएको छ।
अनुसन्धानकै क्रममा घटनालाई विषयान्तर गर्ने, विभिन्न तर्कमार्फत अनुसन्धान प्रक्रियालाई विवादित बनाउने तथा अनुसन्धानमा बाधा पुर्याउने प्रयास हुन सक्ने आशंका प्रहरीको छ। त्यसैले बाहिर सार्वजनिक भएका दाबीभन्दा घटनास्थलबाट प्राप्त प्रमाणलाई अनुसन्धानको मुख्य आधार बनाइएको जनाइएको छ ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गरी जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध रहेकाले जनप्रतिनिधि र प्रहरी अधिकृतसहित नेपाली नागरिकहरू क्यासिनोमा भेटिनु आफैँमा अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ। उनीहरू क्यासिनोमा कुन प्रयोजनले पुगेका थिए, त्यहाँको गतिविधिमा उनीहरूको भूमिका के थियो र घटनाअघि तथा छापा परेको समयसम्म के–कस्ता गतिविधि भएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा क्यासिनोको सिसीटिभी फुटेज, कल डिटेल रेकर्ड (सीडीआर), घटनास्थलको विवरण तथा क्यासिनोभित्र भएको वास्तविक गतिविधि सूक्ष्म रूपमा विश्लेषण गरिने प्रहरीको भनाइ छ। यी प्रमाणबाट पक्राउ परेकाहरूको उपस्थिति, आपसी सम्पर्क र घटनाक्रमको वास्तविकता यकिन गर्ने प्रयास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले कुनै व्यक्ति वा पक्षको दबाब, सार्वजनिक भएका दाबी तथा भ्रामक प्रचारबाट अनुसन्धान प्रभावित नहुने जनाएको छ। प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान अघि बढाई घटनाको वास्तविकता बाहिर ल्याउने प्रहरीको भनाइ छ।




