वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
वीरगञ्ज युवा समाजको आयोजनामा सोमबार साँझ घण्टाघर अगाडि कार्यक्रम गरिएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष संजीव थापाले मैनबत्ती बालेर दीप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए। मृतकहरूप्रति सम्मान तथा शोक प्रकट गर्दै कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको थियो।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापा र समाजसेवी प्रकाश उपाध्यायले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो।
संस्थाका सल्लाहकार मार्टिन मोक्तानले सहजीकरण गर्नुभएको कार्यक्रममा वीरगञ्ज युवा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठसहित मनोज गुप्ता, राजु गुप्ता, सुशील सिंह, काजल मानन्धर, मञ्जु भण्डारी, रोजी प्रधान, रिश्मा श्रेष्ठ, सुमन पौडेल, पुष्पराज कोइराला, रोशन गुप्ता, कमलेश सर्राफ, सुदेश लाखे, विक्रान्त खनाल, शैलेन्द्र यादव, उमेश श्रेष्ठ, हरेन्द्र यादव र राज भण्डारीलगायतको उपस्थिति रहेको थियो।




