Categories समाचार

क्यासिनो प्रकरणमा सामाजिक सञ्जालका दाबीप्रति पर्सा प्रहरीको आपत्ति

Advertisement

वीरगञ्ज । पर्साको एक क्यासिनोबाट गाउँपालिका अध्यक्षसहित आठ जना पक्राउ परेको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न दाबी र आरोप सार्वजनिक भएपछि पर्सा प्रहरीले त्यस्ता सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सामाजिक सञ्जालमा फैलिएका कतिपय विवरण तथ्यहीन रहेको स्पष्ट पार्दै पक्राउ परेका व्यक्तिहरूलाई कसैले चुनौती दिएको, प्रमाण मागेको वा सो विषयमा कुनै संवाद भएको भन्ने दाबीमा सत्यता नरहेको बताएका छन्।

Advertisement

त्यस्तै, पक्राउ परेका गाउँपालिका अध्यक्षलाई जोगाउन विभिन्न प्रपञ्च रचिएको तथा पक्राउ परेका व्यक्तिहरू प्रहरी निरीक्षक प्रदीप पौडेलको बोलावटमा क्यासिनो पुगेको भन्ने दाबीसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यी विषयमा अनुसन्धानबाट वास्तविकता स्पष्ट हुने प्रहरीको भनाइ छ।

Advertisement

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनासँग सम्बन्धित तथ्यहीन, कपोलकल्पित तथा आधारहीन कुराको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र अपुष्ट जानकारी सामाजिक सञ्जालमा फैलाउनबाट बच्न आग्रह गरेका छन्।

क्यासिनो प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानको निष्कर्ष नआएसम्म सामाजिक सञ्जालमा भइरहेका विभिन्न आरोप तथा दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

घटनाले पर्सामा व्यापक चर्चा पाएसँगै यसको वास्तविकता निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने मागसमेत उठिरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *