वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव जोडिएको क्यासिनो प्रकरणमा सार्वजनिक भएको भिडियोले अनुसन्धानको विषयलाई थप गम्भीर बनाएको छ।
सार्वजनिक भिडियोमा अध्यक्ष यादव क्यासिनोभित्र जुवाको टेबलमा बसेको देखिन्छन्। भिडियो बाहिरिएसँगै उनी क्यासिनोमा जुवा खेल्न नभई केवल हेर्नका लागि गएको भन्ने पक्षको दाबीमाथि प्रश्न उठेको छ।
यसअघि यादवका पिता हिरालाल यादवले छोरालाई राजनीतिक प्रतिशोधका कारण फसाइएको दाबी गरेका थिए। उनले यादव जुवा खेल्ने वा अन्य कुलतमा संलग्न व्यक्ति नभएको बताएका थिए।
तर, अहिले सार्वजनिक भिडियोमा देखिएको दृश्यले घटनाको वास्तविकताबारे थप चासो बढाएको छ। प्रहरीले यादवसहित आठ नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेलेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धानका लागि अदालतबाट थप छ दिनको म्यादसमेत लिइएको छ।
अब अनुसन्धानमा पक्राउ परेकाहरू क्यासिनोमा कुन उद्देश्यले पुगेका थिए, जुवाको टेबलमा कसरी पुगे र त्यहाँ उनीहरूको भूमिका के थियो भन्ने विषय महत्वपूर्ण बनेको छ। सार्वजनिक भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ।




