वीरगंज । पर्सामा ७ ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा जितपुरबाट वीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको DL12 CL 1984 नम्बरको कार रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइराखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहार, पूर्वी चम्पारण, रक्सौल पुरैनिया लोहडिया–५ का ३१ वर्षीय दिनेश प्रसाद रहेका छन्।
पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुर मल्लका अनुसार कारसहित प्रसादलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




