वीरगञ्ज । भारतको बिहारस्थित मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपाली महिलाको उद्धार गरी वीरगञ्ज ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रमको समन्वय तथा सहकार्यमा ती महिलाको उद्धार गरिएको हो। उद्धारपछि उनलाई वीरगञ्जस्थित मानवसेवा आश्रममा ल्याएर आवश्यक हेरचाह तथा संरक्षणमा राखिएको आश्रमका देवेश गुप्ताले जानकारी दिए।
आश्रमका अनुसार ती महिलाको परिवार तथा आफन्तको पहिचान भइसकेकोले आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्रै उनलाई परिवारको जिम्मा लगाउने प्रयास गरिने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले महिलाको उद्धारमा भारतीय पक्षसँग समेत आवश्यक समन्वय गरिएको बताए। उनका अनुसार महिलाको अवस्था र पारिवारिक पृष्ठभूमिबारे थप विवरण संकलन भइरहेको छ।




