वीरगंज । हिन्दू महिलाहरूको प्रमुख पर्वका रूपमा मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने गर्छन्।
विवाहित महिलाले पतिको दीर्घायु, पारिवारिक सुख तथा समृद्धिको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ। अविवाहित महिलाले भने सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत लिने गर्छन्।
शिव–पार्वतीको आराधनासँग जोडिएको तीजमा व्रत बसेर पूजा, उपासना गरेमा मनोकामना पूरा हुनुका साथै पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
हरितालिका तीजको सुरुआतसँग पार्वतीको तपस्याको पौराणिक कथा जोडिएको छ। धार्मिक मान्यताअनुसार महादेवलाई पति रूपमा प्राप्त गर्ने इच्छासहित पार्वतीले कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले उनलाई हरण गरी एकान्त स्थानमा लगेका थिए।
साथीहरूले लुकाएको त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरेपछि महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वास गरिन्छ। यही घटनाका आधारमा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ।
‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ। ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी भन्ने हुन्छ।
तीजको व्रत निराहार, जलाहार वा फलाहार गरी आफ्नो स्वास्थ्यअनुसार बस्न सकिने धार्मिक मान्यता छ। अन्न ग्रहण नगरी फलफूल, दूध तथा पानी सेवन गर्न सकिने र औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख धार्मिक ग्रन्थहरूमा पाइन्छ।
यस अवसरमा देशभरका शिवालयमा बिहानैदेखि महिलाको चहलपहल बढेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनको व्यवस्थापन गर्न चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। मन्दिर परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठ वटा लाइनमा विभाजन गरिनेछ भने एकपटकमा आठ जना भक्तजनले मूल मन्दिरमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पूजा, व्रत र शिव–पार्वतीको आराधनासँगै तीजका गीत तथा नाचगानले पनि आज देशभरको वातावरणलाई उल्लासमय बनाएको छ।




