वीरगंज । बाढी तथा विपद्मा परेका नागरिकको सहयोगका लागि भारतमा रहेका इलेक्ट्रोनिक्स सामग्री मर्मत गर्ने प्राविधिकहरूको समूहले प्रधानमन्त्री राहत कोषमा नगद सहयोग गरेको छ।
हेल्पिङ ह्यान्ड इलेक्ट्रोनिक ग्रुप इन्डियासँग आबद्ध इलेक्ट्रोनिक्स सामग्री मर्मत गर्ने टेक्नेसियनहरूको समूहले शुक्रबार १ लाख ८ हजार ६ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
नेपालबाट समूहका सदस्य एमडी सहाजाद र प्रमोद चौरसियाले भारतका एक प्रतिनिधिको रोहवरमा नबिल बैंकमार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाएका हुन्।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहका सदस्यहरूले आपसी सहकार्यबाट रकम संकलन गरी सहयोग गरेको समूहका सदस्य प्रमोद चौरसियाले बताए।
विपद्मा रहेका नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्न पाएकोमा समूहका सदस्यहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट यथासक्य सहयोग आवश्यक रहेको बताएका छन्।
समूहले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।




