वीरगंज । नेपालमा आज संविधान दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान जारी भएको दिनको स्मरण गरिँदै गर्दा संविधान संशोधन तथा पुनर्लेखनको विषयसमेत चर्चामा आएको छ।
संविधान दिवस मनाउने क्रममा एकातर्फ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानता तथा नागरिकका मौलिक अधिकारलाई संस्थागत गरेको विषय उठाइएको छ भने अर्कोतर्फ संविधानमा रहेका कमजोरी र असन्तुष्टिलाई सम्बोधन गर्न संशोधन आवश्यक रहेको आवाज पनि उठिरहेको छ।
विशेषगरी मधेश, आदिवासी जनजाति, दलित, थारू, पिछडिएका तथा विभिन्न समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व र राज्य संरचनाका विषयमा संविधानप्रति असन्तुष्टि कायमै रहेको बताइँदै आएको छ।
संविधान संशोधन वा आवश्यक परे पुनर्लेखनमार्फत सबै पक्षको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका छन्। संविधान दिवसको अवसरमा संविधानको उपलब्धिसँगै यसमा देखिएका कमजोरी र सुधारका आवश्यकताबारे पनि बहस भइरहेको छ।
संविधान दिवस मनाइरहँदा संविधानको कार्यान्वयन, संशोधन र सबै समुदायको स्वीकार्यतासहितको राजनीतिक व्यवस्थाबारे बहसलाई थप सार्थक बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।




