वीरगन्ज । वीरगंज महानगरपालिकाले नगर प्रहरीतर्फका दुई प्रमुख जिम्मेवारीमा परिवर्तन गरेको छ। नगर प्रहरी निरीक्षक हरि भुसाल र नायब निरीक्षक लक्ष्मण लुइटेललाई उनीहरूले सम्हाल्दै आएको जिम्मेवारीबाट मुक्त गरिएको हो।
मेयर राजेशमान सिंहले विशेष अदालतबाट सफाइ पाएपछि महानगरको नेतृत्वमा पुनः फर्किएलगत्तै नगर प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो। महानगरले असोज १ गतेदेखि लागू हुने गरी भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाइएको छ।
निर्णयको पुष्टि मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले गरेका छन्। तर दुवै जनालाई जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण भने महानगरपालिकाले सार्वजनिक गरेको छैन।
नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएपछि भुसाल तत्कालीन मेयर विजयकुमार सरावगीको कार्यकालमा वीरगंज महानगरको नगर प्रहरी प्रमुख बनेका थिए।
महानगरको पछिल्लो निर्णयसँगै अब नगर प्रहरीको नेतृत्व कसलाई दिने भन्ने विषयमा चासो बढेको छ।




