वीरगंज । ज्यानसम्बन्धी कसुरको अनुसन्धानका क्रममा नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर अहमद पक्राउ परेका छन्।
४६ वर्षीय नासिरलाई जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार साँझ वीरगंज महानगरपालिका–१३, मुर्लीबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनीमाथि ज्यानसम्बन्धी कसुरसँगै सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार २०७८ सालमा नातामा साली पर्ने एक महिलाको शव श्मशान घाटमा दफन गर्ने क्रममा घटनासँग सम्बन्धित अनुसन्धान अघि बढाइएको थियो। लामो समयदेखि अनुसन्धानको क्रममा रहेको उक्त घटनामा नासिरलाई करिब पाँच वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। केही व्यक्ति अझै फरार रहेको प्रहरीको भनाइ छ।
घटनामा नासिरको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ पर्दैमा कसुर प्रमाणित नहुने भएकाले घटनाको अन्तिम निष्कर्ष न्यायिक प्रक्रियाबाट तय हुनेछ।




