Categories समाचार

वीपी उद्यानको रेल्वे क्षेत्रमा सरसफाइ, रेल्वे पार्क निर्माण अघि बढाइँदै

Advertisement

वीरगंज । वीरगंजको घण्टाघरस्थित वीपी उद्यान पार्कभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गर्दै रेल्वे पार्कका रूपमा विकास गर्ने योजना पुनः अघि बढाइएको छ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा शनिबार पार्कभित्रको रेल्वे क्षेत्रमा सरसफाइ तथा व्यवस्थापनको काम गरिएको हो। लामो समयदेखि झाडी र फोहोरका कारण अस्तव्यस्त बनेको क्षेत्र सफा गर्दै रेल्वे पार्क निर्माणका लागि आवश्यक तयारी थालिएको महानगरले जनाएको छ।

Advertisement

वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्रका विभिन्न क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको छ। सोही क्रममा पुरानो रेल्वे क्षेत्रलाई वीरगंजको ऐतिहासिक पहिचानसँग जोड्दै आकर्षक रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको हो।

Advertisement

रेल्वे पार्क निर्माणको प्रारम्भिक चरणमा झाडी हटाउने, फोहोर व्यवस्थापन गर्ने र खाली स्थानलाई व्यवस्थित गर्ने काम भइरहेको छ। यसअघि काम अघि बढिरहेका बेला जेठ २५ गते महानगर प्रमुख सिंह निलम्बनमा परेपछि पार्कको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो। काम रोकिएपछि क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएको थियो।

विशेष अदालतबाट सफाइ पाएपछि महानगर प्रमुख सिंहले रोकिएका विकास तथा व्यवस्थापनका कामलाई पुनः गति दिन थालेका छन्। त्यसक्रममा वीरगंजको सरसफाइ अभियानलाई तीव्रता दिँदै वीपी उद्यानको रोकिएको कामसमेत अघि बढाइएको हो।

सरसफाइसँगै अब रेल्वे क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, मनोरञ्जन र वीरगंजको ऐतिहासिक रेल्वे पहिचान झल्किने गरी रेल्वे पार्क निर्माणको योजना अघि बढाइने जनाइएको छ।

घण्टाघर नजिकै रहेको वीपी उद्यानलाई व्यवस्थित, आकर्षक र सर्वसाधारणका लागि उपयोगी सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको लक्ष्य छ।

सरसफाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *