वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख रहँदा उपप्रमुख इम्तियाज आलमको निजी निवास तथा सचिवालयमा १८ जना नगर प्रहरी खटाइएको विषय सार्वजनिक भएको छ।
नगर प्रहरीलाई महानगरपालिकाको सार्वजनिक सुरक्षा, व्यवस्थापन तथा महानगरका काममा परिचालन गरिने भए पनि निजी निवासमा ठूलो संख्यामा जनशक्ति खटाइएको भन्दै यसको आवश्यकता, निर्णय र प्रयोजनबारे प्रश्न उठेको छ।
विशेष अदालतबाट सफाइ पाएपछि महानगर प्रमुख राजेशमान सिंह पुनः पदबहाली गरेसँगै आलमको निजी निवास तथा सचिवालयमा खटिएका १८ जना नगर प्रहरीलाई फिर्ता बोलाइएको बताइएको छ।
नगर प्रहरीलाई निजी निवासमा खटाउने निर्णय कुन आधारमा गरिएको थियो र त्यसको औपचारिक प्रयोजन के थियो भन्ने विषयमा भने महानगरपालिकाबाट स्पष्ट जानकारी सार्वजनिक हुन बाँकी छ।





