वीरगंज । पर्सागढी नगरपालिका–४ का ११ वर्षीय बालक हराएको सूचना पाएलगत्तै परिचालन भएको प्रहरीले करिब दुई घण्टामै उनलाई सकुशल फेला पारेको छ।
पर्सागढी नगरपालिकामा कार्यरत एक कर्मचारीका छोरा शुक्रबार बिहान करिब ८ बजेबाट सम्पर्कविहीन भएका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरीले खोजी तथा प्रहरी परिचालनलाई तीव्र बनाएको थियो। प्रहरीको सक्रियतापछि हराएका बालकलाई करिब दुई घण्टाभित्रै सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
बालक सकुशल भेटिएपछि परिवार तथा आफन्तले राहत महसुस गरेका छन्। घटनामा पर्सा प्रहरी प्रमुख पवन भट्टराईले देखाएको तदारुकता, समन्वय र तत्काल खोजी अभियानप्रति परिवार तथा सहकर्मीहरूले धन्यवाद व्यक्त गरेका छन्।




