वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सामा वडा अधिवेशन आइतबार हुने भएको छ। जिल्लाका ११२ वटै वडामा एकैदिन अधिवेशन सम्पन्न गर्ने निर्णय कांग्रेस पर्साले गरेको हो।
केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गतेमध्ये स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, क्रियाशील सदस्यताको विवरण पूर्ण रूपमा सार्वजनिक हुन नसकेपछि पर्सामा शनिबार अधिवेशन सुरु हुन सकेन।
शनिबार कांग्रेस पर्सा कार्यालयमा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले असोज ४ गते आइतबार ११२ वटै वडामा अधिवेशन गर्ने निर्णय गरेको हो।
कांग्रेसका केन्द्रीय प्रतिनिधि भरत राउतका अनुसार पर्साका क्षेत्र नम्बर १, ३ र ४ को क्रियाशील सदस्यताको विवरण प्राप्त भइसकेको छ भने क्षेत्र नम्बर २ को विवरणमा केही नाम छुटेकाले प्रक्रिया प्रभावित भएको थियो। छुटेका नामावली सार्वजनिक भएपछि अधिवेशन अघि बढाइने तयारी छ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुरेन्द्र चौधरी, रामरूप कुर्मी र अजयकुमार चौरसियासहित जिल्लाका पदाधिकारी तथा क्षेत्रीय सभापतिहरूको सहभागिता रहेको थियो।
कांग्रेसको संशोधित कार्यतालिकाअनुसार असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै माथिल्लो तहका अधिवेशनका लागि आवश्यक प्रतिनिधिसमेत छनोट हुनेछन्।




