Categories समाचार

प्रहरीलाई गाडीले किचेर मारेका कुरवानलाई इन्सपेक्टर मल्लको कमाण्डमा २२ महिनापछि गोली हानेर पक्राउ

Advertisement

सिरहा । सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण प्रसाद यादवको हत्या घटनामा संलग्न रहेको आरोपमा २२ महिनादेखि फरार रहेका मुख्य अभियुक्त तथा लागूऔषध र मदिराको कारोबारमा संलग्न रहेको भनिएका मोहम्मद कुरवान मंसुरीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रबाट कुरवानलाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार कुरवान सिरहा तथा नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषध र मदिराको तस्करीमा नामुद व्यक्तिका रूपमा चिनिँदै आएका थिए। २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली कचनारीस्थित सीमा क्षेत्रमा पुगेको थियो।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बडारी सिरहाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण प्रसाद यादवसहितको टोलीले मदिरा लोड भएको DL 5 CJ 7171 नम्बरको टाटा सफारी गाडीलाई रोक्न खोजेको थियो।

तर, प्रहरीका अनुसार चालकले गाडी नरोकाई ड्युटीमा रहेका सशस्त्र प्रहरी नायव निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेका थिए। गम्भीर घाइते भएका यादवको सोही घटनामा मृत्यु भएको थियो।

उक्त घटनापछि टाटा सफारीका धनी तथा चालकसमेत रहेका कुरवान फरार भएका थिए। भारत बिहारको मधुवनी जिल्ला, ललमनियाँ थाना, घोडमोहना घर भएका तथा हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने मोहम्मद मोकिन मंसुरीका छोरा करिब ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई प्रहरीले घटनाका मुख्य अभियुक्तका रूपमा खोजी गरिरहेको थियो।

२२ महिनापछि प्रहरी निरीक्षक मल्लको कमाण्डमा परिचालित टोलीले असोज ३ गते साँझ करिब ५:१० बजे कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा कुरवानलाई फेला पारेको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा कुरवानसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली चलाएर भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाहीका क्रममा तीन राउण्ड गोली चलाएको थियो।

जवाफी फायरिङमा कुरवानको बाँया हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कुरवानविरुद्ध ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग तथा सवारी ज्यान) र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा रहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान तथा खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *