Categories समाचार

२२ महिनापछि बुवाको हत्या आरोपी पक्राउ, छोरीले भनिन्– ‘यो बदला होइन, न्यायको सुरुवात हो’

Advertisement

सिरहा । २२ महिनाअघि मदिरा तस्करीमा प्रयोग भएको गाडीले किचेर हत्या गरिएका सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण प्रसाद यादवका मुख्य हत्याआरोपी पक्राउ परेपछि उनकी छोरीले भावुक हुँदै खुसी व्यक्त गरेकी छन्।

घटना २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक भएको थियो। भारततर्फ ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल, नेपाल बीओपी बडारीबाट सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण प्रसाद यादवसहितको टोली त्यहाँ पुगेको थियो।

Advertisement

टोलीले DL 5 CJ 7171 नम्बरको टाटा सफारी गाडीलाई रोक्न खोज्दा चालकले गाडी नरोकाई ड्युटीमा रहेका सशस्त्र प्रहरी नायव निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले ठक्कर दिई किचेको प्रहरीको भनाइ छ। गम्भीर घाइते यादवको घटनामा मृत्यु भएको थियो।

Advertisement

प्रहरीका अनुसार उक्त गाडीका धनी तथा चालक रहेका मोहम्मद कुरवान मंसुरी घटनापछि फरार भएका थिए। प्रहरीको अभिलेखमा उनी लागूऔषध तथा मदिरा तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिसमेत हुन्।

घटनापछि प्रहरीले उनको खोजी तीव्र बनाए पनि उनी लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन्। करिब २२ महिनापछि जिल्ला प्रहरी कार्यालय सिरहाको सक्रियता तथा इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा परिचालित टोलीले कुरवानलाई कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा फेला पारेको थियो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कुरवानसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेर भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउण्ड गोली चलाएको थियो। गोली लागेर कुरवानको बाँया हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको थियो।

बुवाको हत्या भएको २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि उनकी छोरीले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएकी छन्।

उनले बुवालाई गुमाएको पीडा शब्दमा बयान गर्न नसकिने उल्लेख गर्दै लेखेकी छन्, ‘उहाँलाई हामीबाट खोस्ने अपराधी आज कानुनको कठघरामा पुगेको छ। यो हाम्रो बदला होइन, न्यायको सुरुवात हो।’

बुवाको जीवन फिर्ता आउन नसक्ने र उहाँले छोडेर गएको घाउ कहिल्यै नपुरिने उल्लेख गर्दै उनले बुवामाथि भएको अन्यायको उचित कानुनी सजाय हुनुपर्ने बताएकी छन्।

आज अपराधी पक्राउ परेको छ, अब सत्य र न्यायको अन्तिम निर्णयको प्रतीक्षा छ,’ उनले लेखेकी छन्। अन्त्यमा बुवालाई सम्झिँदै उनले लेखेकी छन्, ‘बुवा, तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट हेर्नुहोस्।’

कुरवानविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत ज्यान मार्ने उद्योग तथा सवारी ज्यान र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *