वीरगन्ज । पर्सा जिल्लामा कार्यरत ट्राफिक प्रहरीले भारतीय नम्बरका मालवाहक सवारी साधनहरूसँग गैरकानुनी रूपमा रकम असुल्ने गरेको पाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेका विभिन्न विटहरूले ओभरलोड र क्षमताभन्दा बढी सामान बोकेको बहाना बनाउँदै भारतीय गाडी चालकहरूसँग अवैध असुली गरिरहेको स्थानीय तथा चालकहरूले गम्भीर आरोप लगाएका छन्।
विशेष गरी वीरगन्ज महानगरपालिका–१७ अलौस्थित एकीकृत जाँच चौकी (ICP) भन्सारबाट जाँचपास भई निस्किने भारतीय नम्बरका मालवाहक गाडीहरूलाई वीरगन्ज–२४ स्थित बहुअरी चोकमा रहेको ट्राफिक प्रहरी विटले मुख्य निशाना बनाउने गरेको छ। चालकहरूका अनुसार, भन्सारका सबै प्रक्रिया पूरा गरेर निस्किएका गाडीहरूलाई समेत क्षमताभन्दा बढी भार बोकेको भन्दै बहुअरी चोकमा रोकेर जबरजस्ती पैसा माग्ने गरिएको छ। मागेजति रकम नदिए ट्राफिक प्रहरीले अभद्र व्यवहार र गालीगलौज गर्ने गरेको पीडित भारतीय गाडी चालकहरू स्वयम्ले बताएका छन्।
बहुअरी ट्राफिक विटले एकीकृत जाँच चौकीबाट बाहिरिने भारतीय गाडीहरूसँग प्रतिगाडी ५ सयदेखि १ हजार रुपैयाँसम्म अवैध रूपमा असुल गर्ने गरेको छ।
मोबाईलको बत्ती बालेर असुली, असई र हवल्दारको संलग्नता

असुली धन्दालाई लुकाउन प्रहरीले अपनाएको शैली झनै रहस्यमय देखिएको छ। बहुअरी चोकमा रहेको ट्राफिक विटको घुम्तीको अगाडिको भाग ढोका वा कपडाले छोपेर, बत्ती निभाउने र मोबाइलको फ्ल्यासलाइट बालेर कसैले नदेख्ने गरी जाँचका नाममा रकम असुल्ने गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
नाम नछाप्ने सर्तमा स्थानीयहरूले दिएको जानकारीअनुसार, बहुअरी ट्राफिक प्रहरी विटका प्रमुख सहायक निरीक्षक (असई) चितरञ्जन साहको प्रत्यक्ष निर्देशनमा त्यहाँ कार्यरत प्रहरी सहायक हवल्दार देवीलाल साहले यो अवैध असुली धन्दा चलाउँदै आएका छन्। साभार : टिभी वीरगन्ज




