Categories Uncategorized

पेनडाउनदेखि संकाय असन्तुष्टिसम्म : पीजी चिकित्सक विवादमा नेशनल मेडिकल कलेजको धारणा सार्वजनिक

Advertisement

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले स्नातकोत्तर (पीजी) प्रथम वर्षका सम्पूर्ण आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान (IOM) समक्ष औपचारिक अनुरोध गरेको जनाएको छ।

कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक प्लेटफर्ममा घटनाबारे आंशिक तथा फरक–फरक विवरण सार्वजनिक भइरहेको भन्दै आफ्नो पक्षको तथ्यगत स्पष्टिकरण दिएको हो।

Advertisement

कलेजका अनुसार प्रथम वर्षका केही आवासीय चिकित्सकले औपचारिक रूपमा कलेजमा उपस्थित भई प्रशिक्षण सुरु गर्नुअघि नै कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण, HOD, PG Coordinator तथा सम्बन्धित विभागीय नेतृत्वसँग नियमित प्रत्यक्ष सम्पर्क स्थापित हुनुअघि बाह्य निकाय तथा सार्वजनिक माध्यमबाट विभिन्न आरोप तथा गुनासा उठाएका थिए। सात जना प्रथम वर्षका आवासीय चिकित्सकसँग सम्बन्धित विचाराधीन कानुनी विषयसमेत उनीहरूले कलेजमा औपचारिक रूपमा विद्यार्थीका रूपमा प्रशिक्षण सुरु गर्नुअघि नै उत्पन्न भएको कलेजको दाबी छ।

Advertisement

कलेजका अनुसार १३ सेप्टेम्बर २०२६ मा आवासीय चिकित्सकहरूले औपचारिक रूपमा तीनवटा विषय अघि सारेका थिए। तीमध्ये समयमै स्टाइपेन्ड/प्रोत्साहन भत्ता उपलब्ध गराउने, शुक्रबार वा आइतबार बिदा लिँदा शनिबारको हाजिरीसम्बन्धी विषय र २४ घण्टे ड्युटीपछि पोस्ट–ड्युटी विश्रामको व्यवस्था रहेका थिए।

कलेजले सम्बन्धित आवासीय चिकित्सक तथा शैक्षिक पदाधिकारीसँग तत्काल छलफल गरी ती विषय सम्बोधन गरेको र त्यसको अभिलेख राख्दै IOM, त्रिभुवन विश्वविद्यालयलाई समेत समाधानबारे जानकारी गराएको जनाएको छ।

तर त्यसपछि नयाँ लिखित आपत्ति, संशोधित मागपत्र वा थप मागको औपचारिक सूची कलेजमा पेश नभएको अवस्थामा पेन–डाउन अर्थात् काम रोक्ने कार्यक्रम सुरु गरिएको कलेजको भनाइ छ।

पेन–डाउन सुरु भएपछि भने प्रारम्भिक तीन विषयभन्दा फराकिला माग तथा आरोप सार्वजनिक रूपमा उठाइएको कलेजले जनाएको छ। त्यसमा सात जना प्रथम वर्षका आवासीय चिकित्सकसँग सम्बन्धित विचाराधीन कानुनी मुद्दा फिर्ता लिनुपर्ने, OB/GYN सम्बन्धी अनुशासनात्मक विषय, आन्दोलन अवधिको तलब तथा हाजिरी र बायोमेट्रिक हाजिरीलगायतका विषय समावेश भएको कलेजले उल्लेख गरेको छ।

विवाद समाधानका लागि कलेजले १८ सेप्टेम्बर २०२६ मा औपचारिक रूपमा वार्ताका लागि आह्वान गरेको र प्रारम्भिक तीन विषयसँगै पछि उठाइएका थप विषयमा समेत छलफल गरिएको जनाएको छ।

त्यसपछि २० सेप्टेम्बर २०२६ मा कलेजले लिखित संस्थागत समाधान प्रस्ताव अघि सारेको थियो। प्रस्तावमा OB/GYN विषयमा तीन सदस्यीय छानबिन समिति गठन, TU/AOM को व्यवस्था अनुसार २४ घण्टे ड्युटी र पोस्ट–ड्युटी विश्राम, समयमै स्टाइपेन्ड, हाजिरी तथा बिदासम्बन्धी प्रक्रियाको समाधान र आवश्यक विषयमा IOM को आधिकारिक राय लिने व्यवस्था प्रस्ताव गरिएको कलेजले जनाएको छ।

तर विचाराधीन कानुनी मुद्दालाई कानुनी प्रक्रियामै छोडिएको र उक्त लिखित प्रस्तावमा आन्दोलनरत चिकित्सकहरूले हस्ताक्षर नगरेको कलेजको भनाइ छ। त्यसपछि नियमित शैक्षिक तथा क्लिनिकल जिम्मेवारीमा फर्कन औपचारिक सूचना तथा अन्तिम अवसरसमेत दिइएको कलेजले जनाएको छ।

कलेजले विवादका क्रममा ड्युटीमा रहेका चिकित्सकलाई ठूलो समूहले घेरेको, एक चिकित्सकलाई शारीरिक रूपमा समातेर कार्यस्थलबाट हटाइएको तथा तीन महिला आवासीय चिकित्सकलाई ठूलो समूहले घेराउ गरेको दृश्य सुरक्षित CCTV/भिडियोमा अभिलेखित रहेको दाबी गरेको छ।

त्यस्तै विभिन्न विभागका HOD, PG Coordinator तथा संकाय सदस्यलाई ठूलो समूहमा गएर दबाबपूर्ण तथा असहज वातावरण सिर्जना गरिएको र Chief PG Coordinator को कार्यालयमा समेत ठूलो समूहले घेराउ गरी पेशागत मर्यादासँग मेल नखाने भाषा प्रयोग गरिएको गम्भीर गुनासो आएको कलेजले उल्लेख गरेको छ।

कलेजका अनुसार घटनाक्रमपछि विषय कुनै एक विभाग, HOD वा कलेज प्रशासनसँगको असहमतिको विषयमा मात्र सीमित रहेन। व्यापक शिक्षण समुदायमा शैक्षिक अनुशासन, पेशागत व्यवहार, शिक्षक–आवासीय चिकित्सकबीचको विश्वास तथा सुरक्षित शिक्षण वातावरणबारे चिन्ता उत्पन्न भएको कलेजको दाबी छ।

औपचारिक संकाय बैठकमा विभिन्न विभागका शिक्षक तथा शैक्षिक प्रतिनिधिको सहभागिता रहेको र प्रथम वर्षका नियमित शैक्षिक तथा क्लिनिकल प्रशिक्षणमा नफर्किएका आवासीय चिकित्सकलाई IOM/विश्वविद्यालयमा फिर्ता पठाउन सिफारिस गरिएको कलेजले जनाएको छ।

कलेजले स्नातकोत्तर शिक्षा कक्षा र परीक्षामा मात्र सीमित नभई शिक्षक–विद्यार्थीबीचको विश्वास, क्लिनिकल सुपरिवेक्षण, विभागीय अनुशासन, पेशागत सम्मान र सहकार्यमा आधारित हुने उल्लेख गरेको छ। यी आधार कमजोर हुँदा प्रभावकारी स्नातकोत्तर प्रशिक्षण सञ्चालन गर्न कठिन हुने कलेजको भनाइ छ।

प्रारम्भिक माग समाधान, IOM लाई जानकारी, त्यसपछि भएको पेन–डाउन, कलेजबाट गरिएको वार्ता आह्वान, लिखित समाधान प्रस्ताव, नियमित जिम्मेवारीमा फर्कन दिइएका अवसर, ड्युटीमा रहेका चिकित्सक तथा संकायमाथि परेको भनिएको दबाब र शिक्षण समुदायको औपचारिक असन्तुष्टिलाई समग्र रूपमा मूल्याङ्कन गर्दै शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई नेशनल मेडिकल कलेजबाट फिर्ता बोलाइदिन IOM समक्ष अनुरोध गरिएको कलेजले स्पष्ट पारेको छ।

कलेजले यो निर्णय गुनासा उठाएको कारण गरिएको कारबाही नभई पटक–पटकको संवाद र समाधान प्रयासपछि पनि शिक्षण–सिकाइको विश्वास तथा संस्थागत वातावरण गम्भीर रूपमा कमजोर भएको अवस्थामा लिइएको संस्थागत निर्णय भएको जनाएको छ।

कलेजले प्रारम्भिक निवेदन, समाधानसम्बन्धी अभिलेख, IOM सँगको पत्राचार, वार्ता सूचना, लिखित प्रस्ताव, ड्युटीमा फर्कने सूचना, संकाय बैठकको माइन्युट, IOM लाई पठाइएको फिर्ता बोलाउने अनुरोध तथा आवश्यक CCTV/भिडियो प्रमाण सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई उपलब्ध गराउने जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *