वीरगंज । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ भने प्रहरीबाट जोगिन दुई तलामाथिबाट हामफालेका अर्का व्यक्ति घाइते भएका छन्।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति करिब साढे ११ बजे तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि त्यहाँ भागाभाग भएको थियो।
सो क्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो। चिकित्सकले मंगलबार बिहान करिब ११ बजे उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार कोइराला भाग्ने क्रममा सामान्य घाइते भएका थिए। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य देखिएपछि उनलाई अन्य सात जनासँगै हिरासतमा राखिएको थियो। बिहान करिब साढे ७ बजे उनी अचेत अवस्थामा भेटिएका थिए।
यसै घटनामा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया भने दुई तलामाथिबाट हामफाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ र श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मुखिया एम्बुलेन्स चालक रहेको बताइएको छ।
प्रहरीले पासवानको घरबाट कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो। उनको मृत्युको यकिन कारण भने तत्काल खुल्न सकेको छैन। शव नोबेल शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।




