वीरगञ्ज । एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।
इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्याएकी महिलाको परिवार पहिचान भएपछि बिहीबार उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।
आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी हुन्। उनी करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी थिइन्।
परिवारको खोजीका क्रममा आश्रमले विभिन्न निकाय तथा व्यक्तिसँग समन्वय गर्दै निरन्तर पहल गरेको थियो। सोही क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि महिलालाई भाइको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार परिवारसँग पुनः भेट गराउन सक्नु आश्रमको सेवाकार्यको महत्वपूर्ण उपलब्धि हो।
उद्धार तथा पुनर्मिलन प्रक्रियामा सहयोग गर्ने इलाका प्रहरी कार्यालय प्रसौनी, मानवसेवा आश्रम वीरगञ्ज तथा सामाजिक अभियन्ता विनय कुमारलगायतलाई आश्रमले धन्यवाद व्यक्त गरेको छ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार, संरक्षण, उपचार तथा परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको छ।




