Categories समाचार

सर्राफ केन्द्रीय समितिमा पुग्नु सम्पूर्ण समाजका लागि गौरवको विषय : स्वर्णकार

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले नेपाल सरकारको सिफारिसमा मधेस प्रदेशबाट वीरगंजका युवा विकी सर्राफ नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिमा मनोनीत हुनु सम्पूर्ण सोनार समाजका लागि गौरवको विषय भएको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिमा सदस्य मनोनीत भएका सर्राफलाई नेपाल सोनार समाज पर्सा शाखाले शुक्रबार खादा, माला तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको हो।

Advertisement

समाजका अध्यक्ष भुलन सर्राफको अध्यक्षतामा समाजको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वर्णकारले वीरगंजबाट सामाजिक क्षेत्रमा सक्रिय युवा राष्ट्रियस्तरको जिम्मेवारीमा पुग्नुले सम्पूर्ण समुदायको प्रतिष्ठा बढाएको बताए। उनले सर्राफले प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै सामाजिक सेवाका क्षेत्रमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Advertisement

स्वर्णकारले समाजमा सकारात्मक परिवर्तनका लागि सामाजिक संस्था, युवा र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सोनार समाज पर्साले सामाजिक एकता, सहयोग र सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

समाजका उपाध्यक्ष प्रमोद सर्राफले विकी सर्राफको मनोनयनले सोनार समाजका युवालाई सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरणा मिलेको बताए। उनले नयाँ जिम्मेवारीलाई अवसरका रूपमा उपयोग गर्दै समाज र समुदायको हितमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।

समाजका अध्यक्ष भुलन सर्राफले विकी सर्राफको उपलब्धि व्यक्तिगत मात्र नभई सम्पूर्ण सोनार समाजका लागि खुसी र गौरवको विषय भएको बताए। उनले सामाजिक क्षेत्रमा योगदान गर्ने युवालाई प्रोत्साहन गर्दै आगामी दिनमा पनि समाजले यस्ता सकारात्मक कार्यलाई प्राथमिकता दिने बताए।

सम्मानित सर्राफले आफूलाई सम्मान तथा शुभकामना दिएकोमा नेपाल सोनार समाज पर्साप्रति आभार व्यक्त गर्दै नेपाल रेडक्रसमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कैलाश सर्राफ, राजकुमार सर्राफ, सुरज सर्राफलगायतको उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *