Categories समाचार

पाँच वर्षपछि खुलेको पुरानो घटना : जालिम मियाँका छोरा जाफिर पक्राउ

Advertisement

वीरगंज । नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पक्राउ परेका छन्।

ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले जाफिरलाई बुधबार वीरगंजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। करिब ४० वर्षीय जाफिर जगरनाथपुर–५ का स्थायी बासिन्दा हुन् भने हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका छन्। उनी भैंसी तथा पाडा व्यापारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार जाफिरमाथि जगरनाथपुर–४ की आफ्नी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ। यही घटनाको अनुसन्धानका क्रममा उनका दाजु नासिर अहमद मन्सुरीलाई पनि असोज ३ गते पक्राउ गरिएको थियो। नासिर हाल प्रहरी हिरासतमै छन्।

Advertisement

प्रहरीका अनुसार २०७८ असोज २१ गते जाफिरकी अविवाहित सालीको मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रस्तानमा शव गाड्ने प्रयास गरिएको थियो। शव गाड्ने क्रममा नासिर, जाफिरलगायत व्यक्ति संलग्न रहेको आरोपमा प्रहरीले त्यसबेला उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, ती महिलामाथि जबर्जस्ती करणी भएको र अत्यधिक रक्तश्राव भएपछि गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको आरोप छ। त्यसपछि शव वीरगंज ल्याएर गुपचुप रूपमा गाड्न खोजिएको प्रहरीको भनाइ छ।

घटनाको करिब पाँच वर्षपछि प्रहरीले जाफिर र नासिरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *