Categories समाचार

सांसद रहबरको आरोपप्रति मेडिकल कलेजको आपत्ति, ‘तथ्य र प्रमाणमा आधारित परीक्षणका लागि तयार’

Advertisement

वीरगंज । प्रतिनिधि सभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजका सम्बन्धमा व्यक्त गरेका आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।

कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा करिब २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आफू चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको दाबी गरेको छ।

Advertisement

सांसद अन्सारीले उठाएका विषयबारे हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजको भनाइ छ। यद्यपि, कलेजले तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।

Advertisement

कलेजले सम्बन्धित निकायले माग गरेमा आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको धारणा छ। अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

कलेजले आफ्नो संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *