Categories समाचार

पटेर्वा सुगौलीका घुमुवा पण्डित विवादमा, रकम बरामद भएको दाबीमा प्रहरीले गर्‍यो खण्डन

Advertisement

वीरगञ्ज । पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत घुमुवा प्रहरी पप्पु पण्डितलाई एक लाख रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय तानिएको दाबी सार्वजनिक भएपछि घटनाबारे फरक–फरक विवरण बाहिर आएका छन्।

स्थानीय स्रोतका अनुसार असोज १३ गते सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथवलका एकजनालाई चेक बाउन्ससम्बन्धी विषयमा प्रहरी चौकी रङ्गपुर लगिएको थियो। सहनीलाई छुटाउन आफन्तसँग एक लाख रुपैयाँ माग गरिएको र उक्त रकम पप्पु पण्डितमार्फत बुझाइएको दाबी गरिएको छ। सोही क्रममा पण्डितबाट रकम बरामद भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको स्रोतको दाबी छ।

Advertisement

तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले भने पप्पु पण्डितबाट कुनै रकम बरामद नभएको स्पष्ट पारेका छन्। उनका अनुसार गुनासो आएपछि घटनाबारे सोधपुछ गर्न पण्डितलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको हो।

Advertisement

डीएसपी मल्लले भने, “गुनासो आएकोले सोधपुछका लागि जिल्ला बोलाइएको हो, कुनै पैसा बरामद भएको छैन।”

पण्डितलाई प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा परिचालित घुमुवा प्रहरीका रूपमा स्थानीयस्तरमा चिनिँदै आएको बताइन्छ। यसअघि पनि पटेर्वा सुगौलीबाट परिचालित प्रहरी जवान श्रीलाल मण्डल र सुशील मण्डलमाथि गैरकानुनी रकम असुलीको आरोप लागेपछि जिल्ला तानिएको विवरण सार्वजनिक भएको थियो।

एउटै कार्यालयबाट परिचालित घुमुवा प्रहरीमाथि पटक–पटक समान प्रकृतिका आरोप सार्वजनिक भइरहेका बेला घुमुवा परिचालन, कमान्ड कन्ट्रोल तथा आन्तरिक निगरानी प्रणालीबारे प्रश्न उठ्न थालेका छन्। यद्यपि, यस घटनामा रकम बरामद भएको भन्ने दाबीलाई प्रहरीले भने अस्वीकार गरेको छ।

घटनाको वास्तविकता, गुनासोको प्रकृति र पण्डितलाई जिल्ला बोलाउनुको कारणबारे प्रहरीको थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ। यसअघि जिल्ला तानिएका प्रहरी कर्मचारीमाथि भएको विभागीय कारबाहीबारे समेत स्पष्ट विवरण सार्वजनिक नभएको अवस्थामा यसपटक घटनाको निष्पक्ष छानबिन र त्यसको परिणाम सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *