वीरगंज । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी (कोहडी) निवासी सवारी चालक मुन्ना अन्सारीको परिवारलाई वीरगन्ज युवा समाजले राहत सहयोग गरेको छ।
अन्सारी परिवारका मुख्य आयस्रोत रहेको र उनी बेपत्ता भएपछि श्रीमती रूबी खातुन, चार नाबालक तथा वृद्ध आमाबुवालाई दैनिक गुजारा चलाउन समेत कठिनाइ भएको जानकारी पाएपछि समाजको टोली पीडित परिवारको घरमै पुगेको हो।
समाजले परिवारलाई अत्यावश्यक खाद्यान्न, नयाँ लत्ताकपडा, सरसफाइका सामग्रीसँगै नगद रु. ७ हजार ५०५ सहयोग हस्तान्तरण गरेको जनाएको छ।
समाजका अध्यक्ष संजीव थापाले विपत्तिको समयमा वास्तविक पीडितको घरदैलोमै पुगेर सहयोग गर्नु मानवीय कर्तव्य भएको बताए। उनले संकलित राहत सामग्री वास्तविक पीडितसम्म पारदर्शी रूपमा पुर्याउनुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि पीडित परिवार पहिचान गरी सहयोगलाई निरन्तरता दिने बताए।
कार्यक्रमका संयोजक मनोज गुप्ताले राहत अभियानमा जोडिएका सहयोगी हातहरूलाई धन्यवाद दिँदै अन्य सामाजिक संघसंस्था, दातृ निकाय तथा मनकारी व्यक्तिहरूलाई समेत विपद्मा परेका परिवारलाई सहयोग गर्न आह्वान गरे।
वीरगन्ज युवा समाजका अनुसार यो एक साताभित्र गरिएको दोस्रो राहत वितरण कार्यक्रम हो। राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।




