वीरगंज । विराटनगर–१७ निवासी ३० वर्षीय युवा नेता मोजाहिद हकले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
मोरङ–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हक डेढ दशकदेखि कांग्रेसमा सक्रिय छन्। विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका उनी विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहँदै आएका छन्।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले युवा नेतृत्वमा सबै समुदायको अपनत्व र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूसँग सहयोगको अपिल गरेका छन्।
हक लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाललगायत संस्थामार्फत सामाजिक गतिविधिमा पनि सक्रिय छन्।
कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाका लागि प्रदेश र खुलातर्फ गरी केन्द्रीय समितिमा छुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। हकले केन्द्रीय तहमा पुगेर युवाका मुद्दा, समुदायको प्रतिनिधित्व र सामाजिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।




