वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेका आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएशनले संकाय सदस्य, स्नातकोत्तर (पीजी) प्रशिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएकाले यस्ता आरोपको निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ।
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर पीजी सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीले अनियमितताका विषय उठाएपछि उनीहरूको अध्ययन र आवासमा अवरोध गरिएको लगायतका आरोप प्रतिनिधिसभामा उठाएको विवरण सार्वजनिक भएको एसोसिएशनले उल्लेख गरेको छ।
एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएकाले आरोपमा तथ्य र प्रमाण भए सम्बन्धित नियामक निकायमार्फत छानबिन तथा कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिललगायतका अधिकारप्राप्त निकायबाट अनियमितताको अनुसन्धान हुनुपर्ने तथा प्रमाणित भए जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने उसको भनाइ छ।
साथै, आरोप र प्रमाणित तथ्य एउटै नभएको भन्दै एसोसिएशनले अधिकारप्राप्त निकायको आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, विद्यार्थीको मनोबल तथा भविष्य, चिकित्सक र स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा प्रणालीप्रतिको सार्वजनिक भरोसामा असर पर्न सक्ने जनाएको छ।
एसोसिएशनले कुनै व्यक्ति वा संस्था कानुन र नियमनभन्दा माथि हुन नसक्ने स्पष्ट पार्दै प्रमाणित अनियमितताको संरक्षण गर्न नहुने र प्रमाणित हुन बाँकी आरोपका आधारमा सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था पनि बन्न नहुनेमा जोड दिएको छ।
उसले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठाइएका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, विद्यार्थीको भविष्य, बिरामीको सेवा तथा नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखी सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन अनुरोध गरेको छ।




