वीरगंज । लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टरसहित तीन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई अनुसन्धानका लागि जिल्ला बोलाइएको हो।
फरार अभियुक्तलाई पक्राउ गरेपछि उनीहरूबाट रकम लिएर छाडिएको गुनासो आएपछि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा तीनै जनाको मिलेमतोमा रकम लिएको आशंका देखिएपछि उनीहरूलाई कार्यक्षेत्रबाट फिर्ता बोलाइएको हो। प्रहरीले घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको दाबी गरेको छ।
घटनाको विस्तृत छानबिन गर्न प्रहरी नायब उपरीक्षक राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले अनुसन्धान पूरा गरेपछि प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाउने र दोषी देखिएमा थप कारबाहीका लागि सिफारिस गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले गुनासो आएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको बताए। ज्योति दैनिकबाट साभार




