वीरगंज । भारतबाट नेपालतर्फ अवैध रूपमा ९६० किलो चकलेट ल्याउँदै गरेको आरोपमा ६ जना नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ।
भारत–नेपाल सीमास्थित नायकटोला क्षेत्रमा शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी गरिरहेको एसएसबी टोलीले ६ वटा साइकलमा सामान बोकेर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई रोकेर जाँच गर्दा २४ बोरा चकलेट फेला पारेको जनाएको छ। बरामद चकलेटको तौल करिब ९६० किलो रहेको एसएसबीको भनाइ छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।
एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिहरू, चकलेट र साइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ।




