वीरगंज । वीरगंज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी घरमा तोडफोड तथा आगजनी गरेको मुद्दामा रंजन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन्। आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले उनलाई थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीश सरिता रायमाझीको एकल इजलासले राजपुतलाई पुर्पक्षका लागि वीरगंज कारागार पठाउने आदेश दिएको हो।
गत २०८२ भदौ २४ गते जेन–जी आन्दोलनको आडमा राजपुतसहितका व्यक्तिहरूले अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेका थिए। घटनापछि सिंहको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा गत शुक्रबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले राजपुतलाई पुनः पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले अनिशमानको घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी मुद्दामा उनलाई आज अदालतमा पेश गरेको हो।
यसअघि यही घटनामा ‘अब्बु’ भनिने महमद अब्बु हुसेन (अयुब हुसेन) पनि अदालतको आदेशमा पुर्पक्षका लागि वीरगंज कारागार चलान भइसकेका छन्। जेन–जी आन्दोलनको बहानामा वीरगंजमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनामध्ये मेयर राजेशमान सिंहका छोरा अनिशमान सिंहको निजी घरमा भएको आक्रमणसम्बन्धी अनुसन्धानमा प्रहरीले थप व्यक्तिमाथि समेत अनुसन्धान अघि बढाएको छ।




