वीरगञ्ज । वीरगञ्जमा निर्वाचन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्ने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एकाउन्टेबिलिटी ल्याब नेपाल (ALN) को आयोजनामा भिस्वा होटलमा भएको कार्यक्रममा युवालाई मतदाताका रूपमा मात्र नभई नेतृत्वकर्ता र निर्णय प्रक्रियाका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा निर्वाचनमा युवाको पहुँच, नेतृत्व विकास, स्थानीय तथा संघीय तहमा युवाको भूमिका र लोकतान्त्रिक अभ्यासमा युवाको योगदानबारे विचार आदानप्रदान गरिएको थियो। साथै निर्वाचन प्रक्रियालाई थप पारदर्शी, समावेशी र जवाफदेही बनाउन युवाको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।
कार्यक्रममा ALN का कार्यक्रम अधिकृत क्रमिक काफ्ले, कार्यक्रम सह–प्रबन्धक स्वस्तिका बस्नेत, कार्यक्रम अधिकृत अमरेश यादवसहित मधेसका विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको थियो।




