Categories राजनीति

‘पल्टुराम’को संज्ञा पाएका विजय सरावगी रासपामा प्रवेश, वीरगञ्जको राजनीतिमा नयाँ चर्चा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै स्थानीय राजनीतिक वृत्तमा उनको दल परिवर्तनलाई लिएर चर्चा चुलिएको छ।

शुक्रबार सरावगीले रास्वपाको सदस्यता लिएको समाचार सार्वजनिक भएपछि उनले नेकपा (एमाले) परित्याग गरेको जानकारी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनको पार्टी परिवर्तनपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

Advertisement

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सरावगीको पटक–पटकको दल परिवर्तनलाई लक्षित गर्दै उनलाई ‘पल्टुराम’को संज्ञा दिएका छन्। उनीहरूले राजनीतिक स्वार्थअनुसार दल बदल्ने गरेको आरोप लगाएका छन्। यद्यपि, केहीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी परिवर्तन गर्नु स्वाभाविक भएको भन्दै उनको निर्णयको समर्थन गरेका छन्।

Advertisement

सरावगीले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि तत्कालीन संघीय समाजवादी फोरम नेपालमा आबद्ध हुँदै उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनले पाँच वर्ष महानगरको नेतृत्व गरेका थिए।

२०७८ सालमा जनता समाजवादी पार्टी नेपाल परित्याग गरी एमाले प्रवेश गरेका सरावगी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाटै पुनः मेयरका उम्मेदवार बनेका थिए। तर, उक्त निर्वाचनमा उनी राजेशमान सिंहसँग पराजित भएका थिए।

एमालेमा आबद्ध भएको केही वर्षमै सरावगीले पुनः दल परिवर्तन गर्दै रास्वपा रोजेपछि उनको राजनीतिक यात्राबारे बहस सुरु भएको छ। उनका समर्थकहरूले यसलाई नयाँ राजनीतिक यात्राका रूपमा लिएका छन् भने आलोचकहरूले विगतका दल परिवर्तनलाई आधार बनाएर प्रश्न उठाएका छन्।

सरावगीको रासपा प्रवेशले वीरगञ्जको स्थानीय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ। आगामी दिनमा उनको भूमिका र रासपाको स्थानीय राजनीतिक गतिविधिमा हुने प्रभावलाई चासोका साथ हेरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *