वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर एवं नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि वीरगञ्जको राजनीतिमा विवाद चर्किएको छ। सरावगीको सदस्यतालाई लिएर रास्वपाभित्रै असन्तुष्टि देखिएको छ भने स्थानीय नेता तथा कार्यकर्ताले सदस्यता खारेज गर्नुपर्ने मागदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन्।
सरावगीले एमालेको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेपछि रास्वपाको सदस्यता लिएको विषय सार्वजनिक भएको थियो। आगामी स्थानीय तहको निर्वाचनमा उनी रास्वपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बन्न सक्ने चर्चाले विवादलाई थप चर्काएको छ।
वीरगञ्ज महानगरपालिका–२४ का रास्वपा सभापति श्रदानन्न गुप्ताले सरावगीको प्रवेशप्रति कडा असन्तुष्टि जनाउँदै पार्टी सभापतिसमक्ष उनको सदस्यता तत्काल खारेज गर्न माग गरेका छन्। चुनावका बेला आफूहरूलाई विरोध गर्ने व्यक्तिलाई अहिले पार्टीमा प्रवेश गराइएको भन्दै उनले पर्सावासीले सरावगीलाई स्वीकार नगर्ने दाबी गरेका छन्।
गुप्ताले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै सरावगीको सदस्यता खारेज गर्न आग्रह गरेका हुन्। उनको प्रतिक्रियाले सरावगीको प्रवेशलाई लिएर स्थानीय तहमा समेत असन्तुष्टि रहेको संकेत गरेको छ।
‘जेनजी आन्दोलनको उपलब्धि यही हो?’ भन्दै नेतृत्वमाथि प्रश्न
सरावगीको रास्वपा प्रवेशलाई लिएर जेनजी आन्दोलनकर्ता विशेष साहले पनि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘यही हो जेनजीको बलिदानीको उपलब्धि?’ भन्दै पार्टीको राजनीतिक दिशा र नेतृत्वको निर्णयमाथि असन्तुष्टि व्यक्त गरेका छन्।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली पनि रास्वपामा प्रवेश गर्न मात्र बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन्। साथै, रास्वपाको कुन विधि र विधानअनुसार जिल्ला कमिटीलाई छलेर एमालेका नेताहरूलाई सदस्यता वितरण भइरहेको छ भन्ने प्रश्न उठाएका छन्।
यसले सरावगीको प्रवेशलाई लिएर पार्टीभित्र केवल उम्मेदवारीको विषय मात्र नभई सदस्यता वितरण प्रक्रिया र संगठनात्मक निर्णयको पारदर्शितामाथि समेत प्रश्न उठिरहेको देखाएको छ।
‘सरावगीलाई मेयरको उम्मेदवार बनाए पार्टी छाड्छु’
रास्वपाका अर्का एक कार्यकर्ताले सरावगीलाई वीरगञ्जको मेयरको उम्मेदवार बनाउने प्रयास भइरहेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सांसद तथा पर्सा जिल्ला सभापति हरि पन्तलाई सम्बोधन गर्दै वर्षौंदेखि पार्टीमा योगदान दिएका कार्यकर्ताको मेहनत र आत्मसम्मानलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्।
उनले बाहिरबाट आउने व्यक्तिलाई उम्मेदवार बनाउने उद्देश्यले पार्टीका पुराना कार्यकर्ताको योगदानलाई बेवास्ता गरिए आफू चुप लागेर नबस्ने बताएका छन्। सरावगीलाई रास्वपाबाट मेयरको उम्मेदवार बनाइए आफू पार्टीको सदस्यता त्याग्नसमेत तयार रहेको उनको भनाइ छ।
‘पार्टीभन्दा ठूलो कोही व्यक्ति हुँदैन’ भन्दै उनले पार्टीको सिद्धान्त र कार्यकर्ताको आत्मसम्मानभन्दा कसैको व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन्। नेतृत्वले कार्यकर्ताको विश्वासलाई बेवास्ता गरेर निर्णय गरे त्यसको प्रतिवाद गर्ने उनको चेतावनी छ।
हरि पन्तको स्पष्टीकरण : ‘विधि र प्रक्रियाबाहिरबाट टिकट पाइँदैन’
सरावगीको प्रवेश र सम्भावित उम्मेदवारीलाई लिएर असन्तुष्टि बढिरहेका बेला रास्वपा पर्साका जिल्ला सभापति तथा सांसद हरि पन्तले पार्टीको विधि र प्रक्रियाबारे स्पष्ट पारेका छन्।
पन्तका अनुसार रास्वपाबाट मेयर, उपमेयर तथा वडा अध्यक्षलगायतका उम्मेदवार बन्न पार्टीको आफ्नै विधि र विधानअनुसार क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमीलगायतका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
उनले कसैले पनि विधि र प्रक्रियाभन्दा बाहिर गएर पार्टीको टिकट लिन नसक्ने स्पष्ट पार्दै वीरगञ्जवासीलाई कुनै प्रकारको भ्रममा नपर्न आग्रह गरेका छन्।
पन्तको यो भनाइलाई सरावगीलाई तत्कालै मेयरको उम्मेदवार बनाउने विषयमा फैलिएको चर्चाबीच आएको स्पष्टीकरणका रूपमा हेरिएको छ। यद्यपि, सरावगीको उम्मेदवारीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको पुष्टि उक्त भनाइबाट हुँदैन।
सदस्यतादेखि मेयरको टिकटसम्म विवाद
सरावगीको रास्वपा प्रवेशपछि देखिएको असन्तुष्टिले वीरगञ्जमा पार्टीको आगामी रणनीति र उम्मेदवार छनोट प्रक्रिया चर्चाको केन्द्रमा पुगेको छ। एकातिर स्थानीय कार्यकर्ताले विगतको राजनीतिक प्रतिस्पर्धा र पार्टीमा योगदान दिएका सदस्यहरूको भूमिकालाई बेवास्ता गर्न नहुने बताइरहेका छन् भने अर्कोतिर जिल्ला नेतृत्वले उम्मेदवार छनोट विधि र विधानअनुसार हुने स्पष्ट पारेको छ।
सरावगीलाई रास्वपामा प्रवेश गराउने प्रक्रियामा जिल्ला कमिटीको भूमिका के थियो, उनको सदस्यताबारे पार्टीको औपचारिक धारणा के छ र आगामी निर्वाचनमा उनलाई उम्मेदवार बनाउने निर्णय भएको छ वा छैन भन्ने विषयमा भने थप स्पष्टता आवश्यक देखिएको छ।




