वीरगंज । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् भने सहभागीहरूको आँखा तथा दन्त परीक्षणसमेत गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी र भोलेन्टियर समूह वीरगंजको सहकार्यमा जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुखको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी उपरीक्षक पवन भट्टराईले रक्तदान मानवीय सेवाको महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुग्नुका साथै प्रहरी र समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन मद्दत गर्ने बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरी दिवसको अवसरमा रक्तदानसँगै आँखा तथा दन्त परीक्षण कार्यक्रमसमेत आयोजना गरिएको जानकारी दिए। उनले कार्यक्रममा सहभागी भई रक्तदान तथा स्वास्थ्य परीक्षणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित कार्यक्रमले रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा स्वास्थ्य सचेतना फैलाउन योगदान पुर्याएको आयोजकले जनाएको छ।




