वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार असोज २५ गते वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलमा खटिएको डग स्क्वाड र सीमा अन्तरक्रिया टोली (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवाका १८ वर्षीय शेख सहजातलाई जाँच गर्ने क्रममा ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो। उनले उक्त पदार्थ कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर राखेका थिए।
त्यस्तै, सोही दिन मितेरी पुलमा खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँलाई जाँच गर्ने क्रममा ४ किलो ८५ ग्राम गाँजा बरामद गरेको जनाएको छ। मियाँले उक्त गाँजा आफ्नो झोलामा लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्साको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।




