Categories समाचार

वीरगंजसहित बारा–पर्साका ६ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, समिति गठन

Advertisement

वीरगंज । वीरगंजसहित बारा र पर्साका ६ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढेको छ। यसका लागि अन्तरपालिका बैठकले आवश्यक अध्ययन तथा समन्वय गर्न समिति गठन गरेको छ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालनको ढाँचा, खर्च, मर्मतसम्भार र खर्च बाँडफाँटबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ।

Advertisement

प्रस्तावित सेवाले ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ। साथै, मुख्य सडकसम्म पुग्न निजी सवारीमा निर्भर हुनुपर्ने र पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।

Advertisement

बैठकमा वीरगंज महानगरपालिका, जितपुरसिमरा र कलैया उपमहानगरपालिका तथा परवानीपुर गाउँपालिकाका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए। प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकालाई पनि आगामी बैठकमा सहभागी गराउने विषयमा छलफल भएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *