वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रियामा समावेशिताको अवस्थामाथि प्रश्न उठाएका छन्।
उनले कांग्रेसको नेतृत्वमा दलित, मधेसी, थारू, मुस्लिम तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वबारे प्रश्न गर्दै प्रादेशिक रूपमा मधेश, सुदूरपश्चिम र कर्णालीको प्रतिनिधित्वसमेत नभएको टिप्पणी गरेका छन्।
सिंहले समावेशी लोकतन्त्रको नारा दिने कांग्रेसको नेतृत्व संरचनामा खस–आर्य समुदायको वर्चस्व देखिएको भन्दै महिला प्रतिनिधित्व पनि एउटै समुदायमा सीमित गरेर वास्तविक समावेशिताको दाबी गर्न नमिल्ने बताएका छन्।
उनले लेखेका छन्, ‘समावेशिता भाषणमा होइन, नेतृत्वको संरचनामा देखिनुपर्छ।’
कांग्रेसको नेतृत्व चयनलाई लक्षित गर्दै सिंहले ‘खोदा पहाड तो निकला चुहा!’ भन्दै ‘अब टीके बन्ने हो?’ भन्ने प्रश्नसमेत उठाएका छन्।
उनको टिप्पणीले कांग्रेसको नेतृत्व चयनमा समुदायगत तथा प्रादेशिक प्रतिनिधित्वको विषयलाई पुनः बहसमा ल्याएको छ।




