वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र उपाध्यक्ष शर्मिला विष्ट महतोबीच सामाजिक सञ्जालमा एकअर्कालाई लक्षित गर्दै आरोप–प्रत्यारोप सुरु भएको छ। दुवैका पछिल्ला पोस्ट र उपाध्यक्षले सार्वजनिक गरेको ध्यानाकर्षणपत्रले गाउँपालिकाभित्रको विवाद सतहमा आएको संकेत गरेको छ।
अध्यक्ष यादवले सामाजिक सञ्जालमा ‘लबरी रे लबरी’ लेखेपछि उपाध्यक्ष महतोले जवाफ फर्काउँदै राजनीतिक संस्कार भएको व्यक्तिले अरूलाई ‘लाबरा र लबरी’ नभन्ने भन्दै सभ्य भाषा प्रयोग गर्न सुझाव दिएकी छन्। उनले पालिकाभित्रको अवस्थालाई संकेत गर्दै चुनौतीपूर्ण अभिव्यक्तिसमेत दिएकी छन्।
उपाध्यक्ष महतोले अध्यक्ष यादवलाई सम्बोधन गर्दै सार्वजनिक गरेको ध्यानाकर्षणपत्रमा आर्थिक वर्ष २०८३/८४ को बजेट गाउँसभाबाट पारित भए पनि पालिकाको खाता सञ्चालन हुन नसकेको आरोप लगाएकी छन्। अध्यक्षको व्यक्तिगत स्वार्थ र प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी अडानका कारण समस्या उत्पन्न भएको उनको दाबी छ।
उनका अनुसार साउन महिनादेखि कर्मचारी, शिक्षक तथा अन्य सम्बन्धित व्यक्तिले तलब, भत्ता र सेवा–सुविधा पाउन सकेका छैनन्। पालिकास्तरीय तथा वडास्तरीय योजना र कार्यक्रमसमेत प्रभावित भएको उनले उल्लेख गरेकी छन्। दसैँ सुरु भइसकेको र दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा सामाजिक सुरक्षा भत्तासमेत प्रभावित हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्।
त्यसैगरी, पालिकाको एम्बुलेन्स निःशुल्क सञ्चालन गर्ने घोषणा भए पनि इन्धन अभावका कारण सञ्चालन हुन नसकेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रसमेत प्रभावित हुन सक्ने उपाध्यक्षको भनाइ छ। उनले तत्काल पालिकाको खाता सञ्चालन गरी नियमित कामकाज र विकास निर्माणलाई अघि बढाउन अध्यक्षसँग आग्रह गरेकी छन्।
गाउँपालिकाको नेतृत्व तहमा देखिएको विवादले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणमा असर परेको उपाध्यक्षको दाबी छ। सामाजिक सञ्जाल मार्फत सांकेतिक रुपमा सुरु भएको यस विषयमा अध्यक्ष यादवको प्रतिक्रिया तथा गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।







