Categories समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण पक्राउ

Advertisement

वीरगंज । वीरगंज भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तोमा उपलब्ध गराइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रविण साह रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साहले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयका एजेन्टसँग राम्रो चिनजान भएको भन्दै सर्वसाधारणलाई झुक्याउने गरेका थिए। उनले भन्सारको लिलाम बिक्रीमा सहभागी हुन तयार भएका व्यक्तिहरूलाई विभिन्न आश्वासन दिँदै फरक–फरक बैंक खातामा रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन हुने गरेको प्रहरीको भनाइ छ।

Advertisement

यसरी बिचौलियाको काम गरी रकम ठगी गरेको आरोपमा साहलाई वीरगंज महानगरपालिका–८, घण्टाघरबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका साहमाथि कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न विशेष निगरानी राख्नुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।

भन्सारबाट लिलाम हुने सवारीसाधन तथा सामान सस्तो मूल्यमा दिलाइदिने भन्दै बिचौलियाको प्रलोभनमा नपर्न, त्यस्ता व्यक्तिसँग सम्पर्क नगर्न र उनीहरूबारे कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *