वीरगंज । ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति पर्साले बडादशैँ, दीपावली तथा छठ महापर्वको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरी सम्पूर्ण ब्राह्मण समुदायसहित देश–विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा समाजले विजयादशमी, शुभ दीपावली र छठ महापर्वलाई आपसी एकता, सद्भाव र भाइचाराको प्रतीकका रूपमा मनाउने निर्णय गर्दै सबैलाई पर्वको मूल मर्म आत्मसात् गर्न आह्वान गरेको हो।
कार्यक्रममा समाजका संरक्षक प्रमोद पाण्डेयले विजयादशमी सत्य, धर्म र न्यायको विजयको प्रतीक भएको उल्लेख गर्दै यी पर्वले सिकाएका धार्मिक तथा नैतिक आदर्शलाई व्यवहारमा उतार्नुपर्ने बताए। उनले ब्राह्मण तथा सनातन धर्मावलम्बीहरूलाई आपसी एकता र भाइचारा बलियो बनाउँदै पर्व मनाउन आग्रह गरे।
त्यसैगरी, समाजका जिल्ला अध्यक्ष काशिनाथ तिवारीले धर्म र संस्कृतिले सिकाएका सकारात्मक मूल्य–मान्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्दै चाडपर्वको मूल मर्म आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले सबै समुदायलाई समेटेर सद्भावपूर्ण वातावरणमा पर्व मनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै बडादशैँ, दीपावली तथा छठ महापर्वको शुभकामना व्यक्त गरे।
ब्राह्मण समाज नेपाल पर्साका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरिया नगरपालिकाका अध्यक्ष अमलेश्वर मिश्रा, सचिव जनार्दन मिश्र, कोषाध्यक्ष शैलेश कुमार उपाध्याय, केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्याय, संरक्षक डा. सुरेन्द्रनाथ तिवारी, नरेन्द्र तिवारी, प्रमोद पाण्डेय र सन्तोष तिवारीलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी पदाधिकारी तथा सदस्यहरूले ब्राह्मण समुदायलाई एकजुट भई धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता कायम राख्दै चाडपर्व मनाउन आह्वान गरेका थिए।




