काठमाडौं । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कार’ बाट सम्मानित भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखका रूपमा कार्यरत रहँदा ट्राफिक प्रहरीको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा प्रहरी कार्यालयहरूको पुनर्निर्माण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले असोज ३० गते जारी गरेको सम्मानपत्रमा अधिकारीले प्रहरी संगठनको मूल आदर्श ‘सत्य सेवा सुरक्षणम्’ लाई आत्मसात् गर्दै राष्ट्र र नागरिकको सेवामा जिम्मेवारी निर्वाह गरेको उल्लेख छ।
कार्यालय व्यवस्थापन, उपलब्ध स्रोतसाधनको उचित परिचालन र कार्यसम्पादनलाई प्रभावकारी बनाउन देखाएको व्यवस्थापकीय क्षमता तथा योगदानका आधारमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
हाल एसएसपी अधिकारी नेपाल प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्सालमा कार्यरत छन्।




