वीरगन्ज । वीरगन्जको घण्टाघरमा नेपाल सेवा फाउन्डेसनको औपचारिक शुभारम्भ गरिएको छ। अष्टमीको अवसरमा आयोजित कार्यक्रममा प्रसाद वितरणसमेत गरिएको थियो।
‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित स्थापना गरिएको फाउन्डेसनले शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक रूपमा विपन्न, गरिब र असहाय परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष आशिफ अहमदले शिक्षा, स्वास्थ्य र रोजगारलाई समाज विकासका महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारलाई सहयोग गर्नु संस्थाको प्रमुख प्राथमिकता रहेको बताए।
उनले आवश्यकतामा रहेका व्यक्तिसम्म पुगेर सम्भव भएसम्म सहयोग गर्ने र विपन्न परिवारको जीवनस्तर सुधारमा योगदान पुर्याउने संस्थाको लक्ष्य रहेको जानकारी दिए।
त्यसैगरी, संस्थाका अध्यक्ष रितु राजले मानव सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर फाउन्डेसनलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा मानवता, आपसी सहयोग र सामाजिक सद्भाव अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने बताए।
फाउन्डेसनले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्नुका साथै विपन्न तथा असहाय परिवारलाई आवश्यक सहयोग पुर्याउने लक्ष्य राखेको छ।
शुभारम्भ कार्यक्रममा संस्थाका सचिव इमरान आलम, सहसचिव अभिषेक राज, कोषाध्यक्ष सोहेल अहमद, सहसचिव एकराम अहमद तथा सदस्य मनीष शाह र साजन कुमार गुप्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्यअनुसार सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।





