वीरगंज । पर्सा जिल्लामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उक्त अवधिमा कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको छ।
लागुऔषधसहित २४ जना पक्राउ
लागुऔषध नियन्त्रणतर्फ प्रहरीले एक महिनामा १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो।
त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ।
वन पैदावार नियन्त्रणमा सात जना पक्राउ
अवैध वन पैदावार नियन्त्रणका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको छ। यस क्रममा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
यसैबीच, पछिल्लो एक महिनामा पर्सा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गर्दा प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो।





