वीरगंज। वीरगंज यूथ कमिटीको आयोजनामा ‘DJ Dandiya With झिझिया Night–2083 | Season 2’ वीरगंजस्थित टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ५०० भन्दा बढी दर्शक तथा सहभागीको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कमिटीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक बिकी कुमार गुप्ताको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, बैंकर्स, चिकित्सक, सामाजिक अभियन्ता, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा वीरगंजमा पहिलो पटक प्रस्तुत गरिएको गोरिल्ला आकर्षण रहेको थियो। डीजे डान्डिया, झिझियाको सांस्कृतिक प्रस्तुति र गोरिल्लाको विशेष प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रममा उत्कृष्ट नृत्य प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई ट्रली सुटकेस, द्वितीय हुनेलाई एप्पलको पावर बैंक र तृतीय हुनेलाई मिनी मिक्सर ग्राइन्डर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
आधुनिक मनोरञ्जनसँगै झिझियाजस्तो मौलिक सांस्कृतिक पहिचानलाई जोड दिँदै आयोजना गरिएको कार्यक्रमले युवाहरूलाई सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर प्रदान गरेको कमिटीले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, अतिथि, प्रायोजक, स्वयंसेवक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै कमिटीले आगामी दिनमा पनि युवा सशक्तीकरण, सामाजिक सेवा, सांस्कृतिक संरक्षण र सामुदायिक एकतासम्बन्धी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





